कार्यपालिका बैठक राख्न आलटाल गरेको भन्दै इटहरीका जनप्रतिनिधिद्धारा रिट दायर

सहयात्रा टिभी

काठमाडौं ।असोज ८, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले कार्यपालिका बैठक राख्न आलटाल गरेको भन्दै उपप्रमुखसहितका जनप्रतिनिधिद्धारा उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।

कार्यपालिका बैठकको माग गर्दै उपमेयरसहित बहुमत कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेका हुन् । सोमबार दर्ता भएको रिटमा कार्यपालिका बैठकका लागि परमादेशको माग गरिएको छ । रिटमाथिको सुनुवाइ आज हुनेछ ।

इटहरीको प्रमुख हेमकर्ण पौडेल नेपाली कांग्रेसका हुन् । कार्यपालिकामा उनी अल्पमतमा छन् । उपप्रमुखसहित कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । अल्पमतमा भएपनि प्रमुख पौडेलले एकलौटी रुपमा अघि बढिरहेको एमालेले आरोप लगाएको छ ।

यसअघि नगरको बजेट पनि उनले एकलौटी रुपमा ल्याए, सुरुमा एमालेका कार्यपालिका सदस्यले नगरसभा बहिस्कार गरेपनि एमालेका शीर्ष नेतालाई आग्रह गरेर बजेट पास गरेका थिए ।

बजेट कार्यान्वयन र अन्य विषयमा छलफल गर्नु पर्ने भन्दै एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बोलाउन लागि ३० भदौसम्मको अल्टिमेटम दिएका थिए । तर प्रमुख पौडेलले बैठक बोलाएनन् । बैठक नबोलाएपछि बहुमत सदस्यले अदालतमा निवेदन दिएका हुन् ।

 

प्रकाशित : 24 September, 2024

प्रतिक्रिया दिनुहोस्