नेपालभर जारी मनसुन अवधिकै भीषण वर्षाको सम्भावना
काठमाडौं ।असोज ९ , मौसमविदले नेपालभर जारी मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्यसैले विहीबारदेखि आइतबारसम्म उच्चसतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।
वरिष्ठ मौसमविद् एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा विनोद पोखरेलका अनुसार नेपालका केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ ।
बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले अत्यधिक वर्षाका लागि अनुकूल वातावरण बनेको छ । साथै यस वर्ष अत्यधिक गर्मी भएकाले वायुमण्डलमा न्युनचापीय क्षेत्र विकास भएको छ ।
न्युन चापीय क्षेत्र भन्नाले हावाको चाप कम भएको र वर्षा गराउने बादल बनेको क्षेत्र भनेर बुझिन्छ । अहिले यो क्षेत्र अधिक गहिरो (जमिनको सतहदेखि वायुमण्डलको मध्यक्षेत्रसम्म फैलिएको) छ । त्यसैले मौसमविदले भिषण वर्षाको प्रक्षेपण गरेका हुन् ।
जल तथा मौसम विज्ञान विभागले असोज ७ गते विशेष बुलेटिन जारी गरेर असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचना जारी गरेको थियो ।
प्रक्षेपण अनुसार नै नेपालका धेरै स्थानमा वर्षा भइरहेको छ । यो वर्षाको मात्रा र क्षेत्र दुवै थप बढ्दै जाने छ ।