स्थानीय तह उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु

सहयात्रा टिभी

काठमाडौं ।असोज ९ ,आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम छ ।

निर्वाचन आयोगले आज सूचना जारी गरी राजनीतिक दल सम्बन्धत्री नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन अनुरोध गरेको छ । निवेदन कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय समयभित्र दर्ता गराउन सकिने छ ।

निवेदन दिँदा दलको पूरा नाम, संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्रचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता उल्लेख गर्नुपर्ने छ ।

दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरेको मिति, दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि उल्लेख गर्नुपर्ने छ ।

यस्तै दलको केन्द्रीय स्तर र प्रदेश स्तरको संगठनात्मक स्वरुप, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपिसमेत उपलब्ध गराउनुपर्ने आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ ।

आर्थिक वर्ष २०७९८० मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका ददे आर्थिक वर्ष २०७९८० को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वको दलको विवरणसमेत देखिने गरी तयार पारिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने छ ।

आर्थिक वर्ष २०८०८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७९८० को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन समेत आवश्यक पर्ने आयोगले जनाएको छ ।

दल दर्ताका लागि दिइएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत आवश्यक पर्ने छ ।

 

 

प्रकाशित : 25 September, 2024

प्रतिक्रिया दिनुहोस्