एन्फा महिला लिगमा सुदूरपश्चिमले ६५ गोल खायो
काठमाडौं ।असोज ९ , एन्फा महिला लिगमा सबैभन्दा कमजोर देखिएको टिम हो सुदूरपश्चिम प्रदेश । सुदूरपश्चिम प्रदेशले आठौं खेल सक्दा ३ गोल मात्र गरेको छ भने ६५ गोल खाएको छ ।
यसको भित्री कहानी भनेको प्रदेश फुटबल संघ र बन्द प्रशिक्षणमा बसेका खेलाडी बिचको विवाद हो । बन्द प्रशिक्षणमा बसेका २६ जना खेलाडीमध्ये जम्मा २ जनाले मात्रै महिला लिग खेलिरहेका छन् ।
जसमा सुर्खेतमा महिला लिग छनोट खेलेकी गोलरक्षक टिकेश्वरी साउद र लिला चन्द हाल पनि टिममा छन् बाँकी २४ जना भने हाल घरमै छन् ।
विवादको मुख्य जड भनेको प्रशिक्षक परिवर्तन, सेवा सुविधा र बन्द प्रशिक्षणमा बसेका २६ खेलाडीलाई नै एकमुष्ट काठमाडौं ल्याउनुपर्ने खेलाडीको माग सम्बोधन हुन नसक्नु हो ।
धनगढीको अल स्टार फुटबल एकेडेमीमा ९ साउनदेखि सुरज तामाङले २६ खेलाडीलाई प्रशिक्षण दिई रहँदा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँग बी लाइसेन्स हुनुपर्ने नियम बनायो ।
जसअनुरुप सुदूरपश्चिम फुटबल संघले सुरज तामाङलाई हटाएर ९ भदौमा दिनेश लामा योञ्जनलाई प्रशिक्षक बनायो । नयाँ प्रशिक्षक ल्याएसँगै सुदूरपश्चिम प्रदेश फुटबल संघले पहिलो चरणमा १८ खेलाडीलाई मात्र काठमाडौं लगिने जानकारी गरायो ।
नयाँ टिम काठमाडौं त आयो तर प्रदर्शनको आश न प्रदेश फुटबल संघलाई थियो न त प्रशिक्षकलाई । त्यसैले नतिजाप्रति उनीहरुको गुनासो छैन ।
पहिलो खेलमा बागमती युथ क्लबसँग ५–१ ले पछि परेको सुदुरले दोस्रो खेलमा नेपाल पुलिससँग ९–० को खेल खेल्यो ।