बिश्वका खेलाडी एभरेष्ट महिला भलिबल लिग खेल्न नेपाल आउँदै
काठमाडौं ।असोज १० , नेपाली भलिबल इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालमा हुँदैछ ।
सोही अवसर बिश्वका खेलाडी एभरेष्ट महिला भलिबल लिग खेल्न नेपाल आउँदैछन् । इन्फिनिटी ड्रिम्सले नेपाली भलिबल इतिहासमा पहिलो पटक फ्रेन्चाइज लिगको सुरुवात गर्दैछ । जसमा नेपाली खेलाडी देखि विदेशी खेलाडीसम्मले खेल्नेछन् ।
पहिलो पटक हुन लागेको लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । हरेक टोलीमा १२ खेलाडी हुनेछन् । त्यसमा ३ विदेशी खेलाडी अनिवार्य हुनेछन् । पहिलो संस्करणमा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स, कर्णाली यशविसले प्रतिस्पर्धा गर्नेछन् ।
विदेशी खेलाडी समेत आएर खेल्ने भएपछि लिगको चर्चा देशदेखि विदेशसम्म छ र नेपाली खेलाडीहरु पनि विदेशी खेलाडीहरुसँग खेल्न उत्साहित छन् ।
अझ ट्यालेन्ट हन्टबाट हरेक टिमले एक खेलाडी राख्नुपर्ने नियम अनुसार ६ वटा टिममा आएका १\१ जना नयाँ युवा खेलाडीका लागि पनि विदेशी खेलाडीसँग खेल्न पाउने राम्रो अवसर हुनेछ ।
यस पटक इडब्लूभीएल खेल्न अमेरिकादेखि रसियासम्मका खेलाडीहरु नेपाल आउँदैछन् । यस्तै युरोपका टर्कीए, बुल्गेरिया र ग्रीसका खेलाडीहरु पनि नेपाल आउँदैछन् ।
यस्तै महादेशका हिसवाले हेर्ने हो भने एसिया, युरोप, अमरिका र अफ्रिकाबाट खेलाडीहरु आउँदैछन् । नेपालमा आएर खेलिसकको अनुभव भएका भारतीय खेलाडीहरु पनि आउँदैछन् ।
अहिलेमसम् अनुबन्ध भएकामध्ये सबैभन्दा धेरै खेलाडी भारत र रुसका छन् । भारतबाट कुल ५ खेलाडी आउने पक्का भइसकेको छ । यस्तै रसियाका दुई खेलाडी अनुबन्ध भइसकेका छन् ।