शान्ति प्रक्रियाको काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाडौं । असोज ११, प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई आज सम्बोधन गर्दै उनले नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन् । संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उनले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी गराए ।

‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ,’ प्रधानमन्त्री ओलीले भने । उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसासमेत गरे ।

प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबीचको विरोधाभासमा रहेको उल्लेख गरे । भूराजनीतिक प्रतिस्पर्धाको पुनः उदय भएको भन्दै ओलीले भने, ‘सैन्य खर्च र नियन्त्रणविहीन हतियार दौड बढिरहेको छ, आणविक युद्धको भय समाप्त भएको छैन ।

विश्व शान्ति कायम गर्न र धनी–गरिब देशबीचको विभेद हटाउन आवश्यक रहेकोमा जोड दिए । तीन सय वर्षको औद्योगिकीकरण र आधुनिकीकरण यात्रापछि पनि गरिबी र अभाव अतिकम विकसित देशहरूमा व्यापक रहेको उल्लेख गर्दै उनले धनी देशहरुले गरिब देशलाई अर्थपूर्ण सहयोग र सहकार्यलाई बढावा दिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘सामूहिक इच्छाशक्ति र एकीकृत कार्यद्वारा मात्र हामी यो प्रवृत्तिलाई उल्टाउन सक्छौँ र सबैका लागि दिगो शान्ति र साझा समृद्धिको युग प्रारम्भ गर्न सक्छौँ ।’

जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको व्यापक र शृङ्खलाबद्ध प्रभावहरूलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सहयोगात्मक प्रयास आवश्यक रहेकामा उनले जोड दिए ।

 

प्रकाशित : 27 September, 2024

प्रतिक्रिया दिनुहोस्