विपद्‌बाट मुत्यु हुनेको संख्या ८७ पुग्यो, ७२ बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । असोज १२, तीन दिनदेखिको लगातारको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुकीसम्म मृत्यु हुनेको संख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरणअनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको संख्या ८७ पुगेको हो ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिए । अरु ३६ जना घाइते भएका छन् । उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो ।

बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक, काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् ।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् ।

प्रकाशित : 28 September, 2024

प्रतिक्रिया दिनुहोस्