माथिल्लो तामाकोशीमा पहिरोले पुरिएका चारको अवस्था अझै अज्ञात

सहयात्रा टिभी

काठमाडौं । असोज १३, दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पहिरोले पुरिएका चार जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

शनिबार बिहान गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको पहिरोले भत्किँदा दुई जना नेपाली सेना र दुई जना जलविद्युत् आयोजनाका कर्मचारीहरु पुरिएका थिए ।

पहिरो गएको स्थानमा उद्धार टोली पुग्न पनि नसकेको र चार जनाको अवस्था पनि थाहा हुन नसकेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

उनका अनुसार आज बिहान काठमाडौंबाट नेपाली सेनाको हेलिप्कटर आयोजनास्थलमा जाने तयारी छ । साथै पहिरोले भवन भत्काएको ठाउँसम्म पुग्नका लागि आयोजना निर्माणमा काम गर्दै आएको रोल्वालिङ कन्सट्रक्सनका उपकरण लैजाने तयारी छ ।

साथै बालुवा थिग्राउने पोखरीमा जम्मा भएको ढुंगा-माटो हटाउनका लागि तामाकोशी-५ आयोजनासँग पनि सहयोग मागिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए ।

पहिरोले आयोजनाको बाँध क्षेत्रका संरचना -हेडवर्क्मा पनि क्षति पुर्‍याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरेर बाँधका सम्पूर्ण ढोका (गेट) हरु खुल्ला गरिएको थियो ।

भिडियोमा पहाडको माथि टुप्पैबाट पहिरो खसेको देखिन्छ । आयोजनाका कर्मचारीहरुले यो अवस्था कल्पना बाहिरको भएको बताएका छन् ।

 

प्रकाशित : 29 September, 2024

प्रतिक्रिया दिनुहोस्