इरानले इजरायलमाथि गर्यो १८१ भन्दा बढी मिसाइल आक्रमण
काठमाडौं । असोज १६, इरानले इजरायलमाथि १८१ भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकाको चेतावनी पछि पनि इरानले इजरायलमाथि मंगलबार राति १० बजे १८१ भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।
यद्यपि, हालसम्म ठूलो क्षतिको विवरण आइसकेको छैन। तेल अभिभमा २ जना नागरिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इरानले निरन्तर आक्रमणहरू गरेपछि नागरिकहरूलाई बम शेल्टरमा जान भनिएको थियो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इरानको सरकारी टेलिभिजनमा विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ। निकै शक्तिशाली मानिने इरानी रिभोल्युसनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह नेता हसन नसरल्लाह हत्याका साथै लेबनान र प्यालेस्टाइनका जनता मारिएको जवाफमा यो आक्रमण गरिएको बताएको छ। आक्रमण पछि इरानले भनेको छ – नसरल्लाहको शहादतको यो पहिलो बदला हो। यो त अझै सुरुवात मात्र हो।
वास्तवमा, २७ सेप्टेम्बरमा इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेको थियो। यसमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका थिए।
इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले भने – ‘यस आक्रमणको परिणाम भोग्नु पर्नेछ । हामीसँग योजना छ र हामी आफ्नो इच्छा अनुसार समय र स्थान तय गरेर कारबाही गर्नेछौं।’
त्यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायलको मद्दत गर्ने बताएका छन्।
अमेरिकाले इरानले आक्रमण गरेको दाबी गरेको थियो । अमेरिकाले इरानलाई भनेको छ – ‘यदि इजराइलमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नु पर्नेछ।’
त्यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन् – ‘इरानले आज राति ठूलो गल्ती गर्यो र उसले यसको मूल्य चुकाउनु पर्नेछ।’