कोशी नदी भारतको बिहारमा पुगेपछि फुट्यो

सहयात्रा टिभी

काठमाडौं । असोज १६, बहाव बढिरहेको कोशी नदी भारतको बिहारमा पुगेपछि फुटेको छ ।

कोशी नदी दरभंगा जिल्लाको किरातपुर ब्लकस्थित भुभौग गाउँनजिकै सोमबार राति पश्चिमी बाँध फुटाएर बस्तीमा पसेको हो ।

कोशी नदी फुट्दा बिहारका कयौँ गाउँ अहिले जलमग्न छन् । बाँध फुटेर कोशी बस्तीमा पसेको क्षेत्रमा मंगलबार बिहारका मुख्यमन्त्री नीतिश कुमारसहितले हवाई निरीक्षण गरेका छन् ।

बाँध फुट्दा दरभंगा जिल्लाका कयौँ गाउँ बाढीको चपेटामा परेको बिहार सरकारको जल संशाधन विभागले मंगलबार जनाएको छ । सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा गरिरहेका छन् ।

गाउँलाई डुबानबाट बचाउन युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई मुख्यमन्त्री नीतिशकुमारले निर्देशन दिएका छन् ।

प्रभावित क्षेत्रमा तत्कालै सुरक्षा सहयोग पुर्‍याउन सरकारी अधिकारीलाई निर्देशन दिइएको विभागले जनाएको छ ।

बाँध फुटाएर कोशी बस्तीमा छिरेको क्षेत्रमा मंगलबार नै दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेट तयारी अवस्थामा राखिएको छ ।

बाढी नियन्त्रणबाहिर गएकाले अहिले प्रभावित क्षेत्र जलमग्न छन् । प्रभावितहरुको संख्या एकिन नभइसकेको बिहार राज्य सरकारले जनाएको छ ।

 

प्रकाशित : 2 October, 2024

प्रतिक्रिया दिनुहोस्