अमेरिकामा नेपोलियनको पुर्ख्यौली सम्पत्ति नेपालीको स्वामित्वमा

सहयात्रा टिभी

काठमाडौं । असोज १७, अमेरिकामा कुनैबेला फ्रान्सेली शासक नेपोलियन बोनापार्टको पुर्ख्यौली सम्पत्ति यतिबेला हिन्दू र बौद्ध धर्मावलम्वीको आस्थाको प्रतीक बनेको छ ।

ओकको हरियाली वन छिचोल्दै बाल्टिमोरदेखि उत्तरपूर्व हानिएपछि केही माइलको दूरीमा आइपुग्छ ग्लेन आर्म ।

चारैतिर हरिया रुख र घाँसले ढाकिएको चिटिक्कको यो बतासे थुम्को कुनैबेला फ्रान्सेली शासक नेपोलियन बोनापार्टको पुर्ख्यौली सम्पत्ति थियो ।

यतिबेला यो थुम्को नेपाली समुदायको स्वामित्वमा छ । ग्लेन आर्म डाँडाको एक हजार ९७१ रोपनीमा फैलिएको वन क्षेत्र जति मनोहर छ, उत्तिकै संस्कृति र ज्ञान हस्तान्तरणको माध्यम पनि बनेको छ ।

बोनापार्टको परिवारबाट सन् २०१७ मा जग्गा लिएपछि नेपाली समुदायले त्यहाँ यतिबेला हिन्दू(बुद्ध मन्दिर बनाएका छन् । यतिबेला यो थलो हिन्दू र बौद्ध धर्मावलम्वीको आस्थाको प्रतीक बनेको छ ।

यो जग्गाको आफ्नै ऐतिहासिक मूल्य छ । अमेरिकी राष्ट्रपति रुजभेल्टको समयमा ऊर्जामन्त्री र न्यायाधिवक्ता बनेका बोनापार्टका कजनको शेषपछि त्यो जग्गा बिक्रीमा राखियो । महँगो छ भन्ने जान्दाजान्दै नेपाली समुदायले त्यो जग्गा किने ।

हिन्दू र बौद्ध धर्मावलम्वीको आकर्षक गन्तव्य हिन्दू-बुद्ध मन्दिरमा दैनिक २०० भक्तजन पुग्छन् । स्वयम्भु र मुक्तिनाथजस्तै यो मन्दिर यी दुई धर्मावलम्वीको आस्थाको संगमस्थल हो ।

शनिबार, आइतबार र चाडपर्वमा यहाँ प्रार्थना हुन्छ । मन बहलाउन पनि ग्लेन आर्मको डाँडो उपयुक्त थलो हो । कतिपयका लागि सामाजिक सद्भाव आत्मसाथ गर्ने थलो पनि ।

यो थलो नेपालीको मात्र होइन बरु थाई, बर्मिज, भुटानी र भारतीयको पनि गन्तव्य बनिरहेको छ । मेरिल्याण्डमा नेपालीको संख्या बढ्न थालेपछि दैनिक पूजा, विवाह, व्रतवन्ध र श्राद्ध यहाँ हुन थालेको छ ।
जमरा राख्न पनि मुस्किल पर्ने, अपार्टमेन्ट र घरमा खुम्चिएका नेपाली समुदायले फराकिलो ढंगमा धार्मिक विधिको अभ्यास गर्न पाएका छन् ।

 

प्रकाशित : 3 October, 2024

प्रतिक्रिया दिनुहोस्