चितवनमा दुई मोटरसाइकल र स्कुटर ठोक्कियो : एक जनाको मृत्यु, पाँच घाइते

सहयात्रा टिभी

काठमाडौं । असोज २१, चितवनको रत्ननगर नगरपािलका–९, टिकौली जंगलमा सोमबार बिहान करिब सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अर्को एक मोटरसाइकल र स्कुटरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार, पूर्व–पश्चिम राजमार्गको टिकौली जंगलमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा वाग्मती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा चालक र पछाडि बस्ने गरी ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाको आदिखोला गाउँपालिका–३ का २३ वर्षीय रोहन पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का १७ वर्षीया रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको र रत्ननगरस्थित बकुलहर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, ग१२प ७१७२ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको अवस्था मध्यम छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको रिजालले जानकारी दिए ।

ना४३प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ का प्रेमप्रसाद रिजाल र पछाडि सवार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–८ की बिविका सापकोटा सामान्य घाइते छन् । बकुलहर अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । रासस

प्रकाशित : 7 October, 2024

प्रतिक्रिया दिनुहोस्