सवारी दुर्घटनामा दुई प्रहरीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असोज २१, मोरङमा अलग अलग सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ : ४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।

कोशी राजमार्गको बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ : ४० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान तामाङको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै प्रहरीले मिक्सचर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका – ६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 7 October, 2024

प्रतिक्रिया दिनुहोस्