साफ वुमन्स च्याम्पियनसिप : काठमाडौं आइपुग्यो पाकिस्तानी टिम
काठमाडौं । असोज २७, आगामी कात्तिक पहिलो साता नेपालमा हुन लागेको महिला साफ च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टोली नेपाल आइपुगेको छ।
आइतबार बिहान काठमाडौँ आइपुगेको पाकिस्तानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
सातौँ संस्करणको साफ च्याम्पियनसिप आगामी कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा हुँदैछ। यो नेपालमा हुन लागेको तेस्रो साफ च्याम्पियनसिप हो।
यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एक एक पल्ट यसको आयोजना गरेका थिए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। अन्य टोली पनि अब क्रमशः नेपाल आउने प्रवक्ता साहले बताए।
सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा छ। यो समूहमा श्रीलंका माल्दिभ्स र भुटान गरी चार राष्ट्र छन्। अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिस्पर्धा गर्ने तय भएको छ।
च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन्। आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको शुरुवात गर्ने भएको छ। हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन।
महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो। भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ। घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपालले राजेन्द्र तामाङको प्रशिक्षणमा तयारी गरिरहेको छ।