=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


गौशाला धर्मशालामा अटेरी मारवाडी, महानगरलाई ‘प्रशासनकै असहयोग’

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउन गएको काठमाडौँ महानगरपालिकाको प्रहरी टोली फिर्ता भएको छ । पशुपति क्षेत्र विकास कोषको नौ रोपनी नौ आना दुई पैसा जग्गा कब्जा गरेर मारवाडी सेवा समितिले निर्माण गरेका अवैध संरचना हटाउन र पशुपति गौशाला धर्मशाला खाली गराउन पुगेको नगर प्रहरी ‘प्रहरी प्रशासन’ कै असहयोगले बुधबार पनि फिर्ता भएको हो ।

नेपाल प्रहरीको टोलीले महानगर प्रहरीलाई धर्मशालाभित्र प्रवेश गर्ने क्रममा मूल गेटमै रोकेको थियो । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच असोज २२ गते पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएपछि महानगरले धर्मशाला खाली गराउने तयारी थालेको हो ।

काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान सङ्गतले पशुपति गौशाला धर्मशाला खाली गराउन दुई वटा डोजरसहित पुगेको महानगर प्रहरीलाई नेपाल प्रहरी र प्रशासनिक निकायबाट असहयोग भएको बताए ।

उनले महानगर प्रहरी धर्मशालाभित्र प्रवेश गर्ने क्रममा प्रहरीले मूल गेट बन्द गरेर रोकेको बताए । उनका अनुसार प्रहरीको अवरोधपछि काठमाडौँ महानगरपालिकाको बोर्ड राखेर नगर प्रहरी फर्किएको छ । उनले भने, ‘कोषसँग भएको सहमति अनुसार महानगर प्रहरी धर्मशाला खाली गराउन गएको हो । अवरोध भए पनि भगवान् पशुपतिनाथको सम्पत्ति रक्षा गर्न हामी दृढ छौँ । धर्मशाला चाँडै खाली गराएर गैरनाफामूलक ढङ्गले सञ्चालन र व्यवस्थापन गर्छौं ।’

श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच २०६० मा भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाउने समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर दुध ब्यापार गर्दै आएको छ । साथै समितिले धर्मशालाका १९ वटा सटर भाडामा लगाएर प्रतिसटर मासिक ३५ हजार रुपियाँभन्दा बढी असुल्ने गरेको छ ।

‘शान्ति सुरक्षा कायम गरिएको हो’

महानगरले प्रहरी प्रशासनको असहयोग भयो भनिरहँदा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ‘शान्ति सुरक्षा’ का लागि मात्रै प्रहरीले महानगर प्रहरीलाई रोकेको दाबी गरे ।

उनले पशुपतिनाथको सम्पत्ति रक्षा गर्नु राज्यको दायित्व भए पनि जिल्ला प्रशासन कार्यालयको काम शान्ति सुरक्षा मात्रै भएको बताए । उनले कोष, महानगर र समितिलाई संवादमार्फत समाधान खोज्न आग्रह गरिएको बताए ।

यसैगरी समितिका निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयलले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको कि.नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गाका सन्दर्भमा अदालतको फैसलाको पूर्ण पाठ आउने र त्यसपछि पुनरावेदनमा जाने बताए । उनले न्यायिक निरूपण नभएसम्म धर्मशाला खाली नगर्ने अडान दोहोर्‍याए । – गोरखापत्रबाट

प्रकाशित : 17 October, 2024

प्रतिक्रिया दिनुहोस्