रास्वपाले पोखरामा आज पनि विरोध प्रदर्शन गर्ने

सहयात्रा टिभी

पोखरा । कात्तिक ५, पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।

रास्वपाले नेता कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबारदेखि नै रास्वपाले विरोध प्रदर्शन गरीरहेको छ ।

शनिवार चिप्लेढुंगास्थित मानवअधिकार चोकमा प्रदर्शन गरेकोमा आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी सहिदचोकमा उनीहरूले विरोध प्रदर्शन गरे ।

जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेको छ । आइतबार रास्वपाका समर्थकले निषेधाज्ञा तोडेर सहिदचोकमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रबाट भीड हटाउन खोज्दा दिनभर जसो प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेला भयो । प्रहरीले भीड नियन्त्रणमा लिनलाई पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

पछि रास्वपाका नेता कार्याकर्ता नाराबाजी गर्दै पृथ्वीचोकमा पुगेर कोणसभा भएको थियो । आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा रविलाई पक्राउ परेको दिनबाट ६ दिनसम्म हिरासतमा राखेर म्याद थप्न प्रहरीले अनुमति पाएको छ ।

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्