रुपन्देहीमा छविलाल जोशीको बयान संगै अदालत नजिकै प्रदर्शन सुरु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइरहेका छन् ।

६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।

वचतकर्ताको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरिएको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए ।

वचत रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाही आफूहरूको प्रमुख माग रहेको उनले बताए ।

 

प्रकाशित : 22 October, 2024

प्रतिक्रिया दिनुहोस्