राष्ट्र बैंकको लचकताले बैंकहरूको नाफामा सुधार

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ७, चालु आर्थिक वर्ष (चालु) २०८१\८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियामकीय व्यवस्थामा अपनाएको लचकताले उनीहरूको नाफामा सुधार देखिएको छ ।

अधिकांश बैंकको खुद ब्याज आम्दानी गिरावट आए पनि सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजन’ घट्दा बैंकहरूको नाफामा सुधार देखिएको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आव प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।  २० वाणिज्य बैंकको नाफा समग्रमा २०.१७ प्रतिशतले बढेको छ ।

गत साउनमा सार्वजनिक मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा चालु आवबाट १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ ।

गत आव प्रथम त्रैमासमा २० वाणिज्य बैंकले १३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ नाफा कमाएका थिए । चालु आव सोही अवधिमा १६ अर्ब १८ करोड ९५ लाख नाफा कमाएका छन् ।

राष्ट्र बैंकले कोभिड-१९ पछि कसिलो बनाएको बैंक तथा वित्तीय संस्थाको नियामकीय नीति क्रमशः खुकुलो बनाउँदै लगेको छ ।

राष्ट्र बैंकले नियामकीय व्यवस्थामा लिएको लचकताले गर्दा सम्भावित कर्जा नोक्सानी व्यवस्था घटेको छ । जसले खुद ब्याज आम्दानी घटे पनि बैंकहरूको नाफा समग्रमा बढेको छ । २० मध्ये १२ बैंकले नाफा बढाउँदा ८ बैंकको भने घटेको छ ।

गत आवमा उच्च व्यवसाय विस्तार गरेको प्राइम कमर्सियल सहित एभरेस्ट बैंकले भने खुद ब्याज आम्दानीसँगै नाफामा समेत राम्रो सुधार देखाएका छन् ।

 

 

प्रकाशित : 23 October, 2024

प्रतिक्रिया दिनुहोस्