रवि लामिछाने र छवि एकसाथ अदालत उपस्थित गराइँदै

सहयात्रा टिभी

पोखरा । कात्तिक ८, पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

छविलाललाई गत असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो । उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।

गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डिआईजी छविलालको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ व्यक्ति र संस्थाविरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।

रास्वपाले आज पनि रत्नचोक नजिकैको वाई चोकमा कार्यकर्तालाई प्रदर्शनका लागि उपस्थित हुन आह्वान गरेको छ । जिल्ला अदालत, जिल्ला प्रशासनलगायत सरकारी कार्यालयहरु रहेको शहीद चोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपछि सोही चोक छिर्ने अर्को चोकमा रास्वपाले प्रदर्शन गर्न लागेको हो ।

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ ।

रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमासमेत उल्लेख छ । सहकारी ठगी प्रकरणमा रविसहित माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए ।

पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर उनीहरुले पुरक जाहेरी दिएका थिए ।

त्यसअघिकै जाहेरीका आधारमा सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पटकपटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबारमात्र रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।

उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर आचार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् ।

प्रकाशित : 24 October, 2024

प्रतिक्रिया दिनुहोस्