आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग नेपाल पराजित
काठमाडौं । कात्तिक १२, आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको छ।
अमेरिकाको डलासको ग्रान्ड प्रिएरीमा आइतबार राति भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकाका शायन जहानगिरले १०४ रनको शतकीय इनिङ खेले । कप्तान मोनाक पटेलले ६२, हर्मित सिंहले ५७ रन र शाड्ली भान साल्वेकले २९ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रनको योगदान गरे। रोहित शतक बनाउनबाट चार रनले चुके ।
अनिल शाहले ५६, आशिफ शेखले ५२ र आरिफ शेखले ३७ रनको योगदान दिए ।
लिग २ मा नेपालको यो नवौं हार हो। नेपाल एक जित र एक टाइसहित तीन अंक जोड्दै सातौं स्थानमा छ। एक खेल बढी खेलेको अमेरिका सात जित र तीन हारसहित १४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।