कैलाली जुवा खेल्ने क्रममा एक जनाको मृत्यु भएको घटनामा ४ जना पक्राउ
काठमाडौं । कात्तिक १३, कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन् ।
गत शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करण बिकको मृत्यु घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश बिक र गंगा साउँद रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार मृतक बिकका परिवारले उनीसँगै रहेका चारै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो ।
ओलानीमा जुवातास खेलिरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरीको टोली जुवाखालमा पुगेको थियो । प्रहरी त्यहाँ नपुग्दै जुवातास खेलिरहेकाहरु भागेका थिए तर बिक भने भोलिपल्ट स्थानीय कुलोमा मृत भेटिएका थिए ।
सुरुमा जुवाखालबाट भाग्ने क्रममा बिकको मृत्यु भएको आशंका गरिएको थियो तर घटनामा बिकसँगै रहेका चार जनाको शंकास्पद भूमिका देखिएपछि प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
चार जना पक्राउ परेपछि मृतक बिकका परिवारले मंगलबार मात्र उनको शव बुझेका छन् ।