नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल
काठमाडौं । कात्तिक १७, राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका व्यक्त गरेका हुन् ।
यस्तै उनले राष्ट्रिय विभूति साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा ‘लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाली समाज सभ्य र सहिष्णु समाज हो, हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन’’ उल्लेख छ ।
राष्ट्रिय विभूति साख्वाले प्रवर्तन गर्नुभएको नेपाल संवतको पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट शुरु हुन्छ ।