उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १८, उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन् । अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुने छन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।

सहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रलाई सम्बोधन गर्ने छन् । सो क्रममा उनले नेपालले वस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउने छन् ।

नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ । वर्ल्ड अर्बान फोरम सहरी विकासको क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ ।

उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, सहरी विकास मन्त्रालयका अधिकारीहरू कायरो प्रस्थान गरेका हुन् । सिंह कार्यक्रममा सहभागी भएर आगामी शनिबार बिहान १० : ३० बजे स्वदेश फर्कने छन् ।

प्रकाशित : 3 November, 2024

प्रतिक्रिया दिनुहोस्