विश्वकप विजेता कप्तान चन्दले लुम्बिनी लायन्सबाट खेल्ने
काठमाडौं । कात्तिक २१, भारतबाट यू-१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
भारतलाई सन् २०१२ मा आईसीसी यू-१९ विश्वकप जिताउँदा कप्तान उन्मुक्तलाई लुम्बिनी लायन्सले एनपीएलका लागि अनुबन्ध गरेको हो ।
भारतको ए टोलीबाट समेत खेलिसकेका उन्मुक्तले भारतमा पर्याप्त अवसर नपाएपछि भारतीय क्रिकेटबाट सन्यास लिंदै अमेरिका लागेका थिए ।
उनकै कप्तानीमा भारतले घरेलु टोली अष्ट्रेलियालाई फाइनलमा ६ विकेटले स्तब्ध पार्दै सन् चन्दको २०१२ मा यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको थियो । फाइनलमा उनले शतकसमेत प्रहार गरेका थिए ।
उन्मुक्त चन्दले दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका थिए ।
उन्मुक्त लुम्बिनीले एनपीएलका लागि अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि लुम्बिनीले अष्ट्रेलियन अलराउण्डर बेन कटिङ र इंग्ल्याण्डका टम रोजर्सलाई अनुबन्ध गरिसकेको छ ।
उन्मुक्तले ६७ फस्ट क्लास खेलमा ३ हजार ३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो । उक्त खेलहरुमा उनको ८ शतक पनि समावेश रहेका छन् ।