अमेरिकाको ४७ औं राष्ट्रपतिमा विजय प्राप्त गरेका ट्रम्पलाई बधाई सुरू
काठमाडौं । कात्तिक २१, अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् ।
निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाई दिने क्रम सुरू भएको हो ।
युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गरेकी छन् । ‘म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु’, एक्समा उनले भनेकी छन्, ‘इयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन् । हामी हाम्रा जनताबीचको साँचो साझेदारीमा बाँधिएका छौं, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।’
भोन डेर लेयेनले ट्रान्सएटलान्टिक एजेन्डामा सँगै भएर एक बलियो काम गर्ने पनि इच्छा व्यक्त गरेकी छन् ।
त्यसैगरी, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उनको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताएका छन् ।