चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आयो
काठमाडौं । कात्तिक २२, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ ।
रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
चिलिमे हब सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्म रहेका छन् । आयोजना अन्तर्गत त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।
अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (ईआईबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।
नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्क बहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् जुनसुकैबेला जोड्न सकिने बताए ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज ९ सँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।