मितेरी सहकारीका ज्योति गुरूङ र भण्डारीविरूद्ध रेड नोटिस जारी
काठमाडौं । कात्तिक २३, ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।
इन्टरपोलबाट नोटिस जारी भएपछि अब उनीहरुको इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनीहरुको खोजी गर्नेछन् ।
महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिना भएको थियो।
रेड कर्नर नोटिस जारी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन्।
यद्यपि धनराजले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो। ज्योति र धनराजको सम्बन्धविच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू फेला परेका थिए।
यो सहकारीका अध्यक्ष कुम्मराज गुरूङ हुन्। उनले संसदीय विशेष छानबिन समितिमा पनि बयान दिएका थिए। बयानका क्रममा उनले ज्योति व्यवस्थापक रहेको र उनले सहकारीको बचत रकम नै लगेको बताएका थिए।