पूर्वगृहमन्त्री रविलाई पोखराबाट रुपन्देही ल्याउने तयारी

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही ल्याउने तयारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार लामिछानेलाई सकभर आज (सोमबार) साँझ नभए भोलि (मंगलबार) बिहान विमानबाट भैरहवा ल्याइनेछ ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

पोखराबाट भैरहवा ल्याएपछि लामिछानेसँग बयान लिने तयारी छ ।

प्रहरीले ती सबैलाई अनुसन्धानको लागि पक्राउ गरेर मुद्दा दायर गर्ने तयारी गरेको इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजय पण्डित बताउँछन् ।

प्रकाशित : 11 November, 2024

प्रतिक्रिया दिनुहोस्