रवि लामिछानेलाई आज रुपन्देही लगिंदै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २७, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्कीबाट रुपन्देही लगिँदै छ ।

बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी भए पनि मौसम नखुल्दा उडानमा ढिलाइ भएको छ ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रविलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक २५ गते थप १३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई आज बुटवल लैजान लागिएको हो । त्यहाँ बयान गराइ आजै पोखरा फर्काउने तयारी छ ।

प्रकाशित : 12 November, 2024

प्रतिक्रिया दिनुहोस्