कम्प्युटर अपरेटरबाट अन्य सेवा समूहमा समायोजन र बढुवा हुन बाटो खुला

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २८ , सर्वोच्च अदालतले कम्प्युटर अपरेटरबाट बढुवा भएर विविध सेवा अन्तरगत कम्प्युटर अधिकृतका रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासनसहितका अन्य सेवा समूहतर्फ समायोजन र बढुवा हुन बाटो खोलिदिएको छ ।

सेवा प्रवेश गरेपश्चात वृत्ति विकासको अपेक्षा राख्नु कर्मचारीको अधिकारको विषय भन्दै सर्वोच्चले समायोजन र बढुवाको बाटो खोलिदिएको हो ।

नेपाल विविध सेवा अर्थात् प्राविधिक सेवाका कर्मचारीहरुले आफूहरुलाई अप्राविधिक सेवातर्फ समायोजन र बढुवा गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले उनीहरुको शैक्षिक योग्यता, प्राप्त तालिम, दक्षता र क्षमता अनुकूल वृत्ति विकास हुने गरी ‘उचित सेवा समूहमा’ समायोजन तथा पदस्थापना गर्दा उचित हुने ठहर गरेको छ । यससँगै कम्प्युटर अपरेटरबाट कम्प्युटर अधिकृत पदमा बढुवा भएका कर्मचारीहरुको समायोजन वृत्ति विकास सम्बन्धी विवादको टुंगो लागेको छ । अब त्यस्ता कर्मचारीहरुले प्रशासनसहित अन्य सेवातर्फबाट बढुवा वा समायोजन हुन पाउनेछन् ।

सर्वोच्चको फैसलाले विविध सेवामा विभिन्न तहमा रोकिएको वृत्ति विकासको बाटो खुला हुने अवस्था आएको छ । तर, प्रशासनतर्फका कर्मचारी भने प्रशासन सेवामा भिड बढ्ने र त्यसले बढुवामा जाम लाग्ने त्रासमा छन् ।

भविष्यमा नेपाल प्रशासन सेवाका राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव)का पदमा समूह बाहिरको कर्मचारी प्रवेश पाउने भएकाले विभिन्न असरहरु पर्ने पनि उनीहरुको दाबी छ । आदेशका कारण हाल १४–१५ वर्षमा हुने गरेको प्रशासन समूहको बढुवा २० वर्षसम्म धकेलिने उनीहरुको दाबी छ ।

 

 

 

 

प्रकाशित : 13 November, 2024

प्रतिक्रिया दिनुहोस्