मंसिर १२ गतेभित्र बक्यौता बुझाउन उद्योगीलाई प्राधिकरणको ताकेता
काठमाडौं । कात्तिक २९, नेपाल विद्युत प्राधिकरणले मंसिर १२ गतेभित्र बाँकी रहेको बक्यौता तिर्न उद्योगीहरुसँग ताकेता गरेको छ । प्राधिकरणले दिएको १५ दिने समयसीमा मंसिर १२ मा सकिने छ।
मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औँ बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको थियो ।
सोही निर्णयअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ ।
मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ ।
यसअघि बुधबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका थिए ।
नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको उनको भनाइ थियो ।
अब बक्यौता उठाउने जिम्मा सरकारले लिनुपर्छ : कुलमान