भैरहवामा रविको बयान पोखरा पठाउने तयारी

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २९, बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ ।

पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरु गरिएको हो ।

हिजो १० घण्टा र आज समेत गरी ७० बढी लिखित प्रश्न सोधेको र लामिछानेले सहजरुपमा आत्मविश्वासका साथ इन्कारी बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक अधिकृतले जानकारी दिए ।

अबको केही बेरमा बयान सकिने र आज ४: ४० को फ्लाइट मा पोखरा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिइएको थियो ।

बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृतलगायतको सहभागिता छ । लिखित बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ ।

लामिछानेको बयान सकिएर विमानस्थल लैजाने क्रममा रास्वपाका कार्यकर्ताले मोटरसाइकल र्‍याली प्रर्दशन गर्दै छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ ।

 

प्रकाशित : 14 November, 2024

प्रतिक्रिया दिनुहोस्