रोहन र निराजनले राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरे
काठमाडौं । कात्तिक २९, युवा मिडफिल्डर रोहन कार्की र निराजन धामीले नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका छन् ।
बुधबार बेलुका भएको ताजिकस्तानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत रोहन र निराजनले सिनियर टिमबाट डेब्यू गरेका हुन् ।
डुसानवेस्थित सेन्ट्रल रिपब्लिक रंगशालामा भएको खेलमा रोहनले पहिलो रोजाईमा खेल्दै डेब्यू गरे । गत फागुनमा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल र बहराइनविरुद्धको विश्वकप छनोट खेलका लागि टिममा परेका रोहनले डेब्यूका लागि भने पर्खनुपरेको थियो ।
झापा कन्काइका रोहनले आरसी ३२ एफसीबाट सी डिभिजन लिगको कप्तानी गर्दै बी डिभजनमा बढुवा गराउन भूमिका खेलेका थिए । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीबाट खेलेका उनले उदयीमान खेलाडीको अवार्ड जितेका थिए ।
यस्तै यू२० राष्ट्रिय टिमका फरवार्ड निराजनले भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यू गरेका हुन् । उनी ७४औं मिनेटमा जिलेस्पी जंग कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए ।