आजदेखि सिनेमा हलमा नीता–हरिहरको ‘ह्रस्व–दीर्घ’
काठमाडौं । कात्तिक ३०, लामो समयदेखि बहुप्रतिक्षित बनेको नयाँ नेपाली फिल्म ‘ह्रस्व–दीर्घ’ को आज कार्तिक ३० गते शुक्रवारदेखि सार्वजनिक प्रदर्शन प्रारम्भ भएको छ । केही दिन अघिदेखि खुला गरिएको अग्रीम बुकिङमा समेत यो फिल्मले उत्कृष्ट व्यवसाय गर्ने सम्भावना देखाएको छ । यसका साथै यो फिल्मले देशका अधिकांश मल्टिप्लेक्स तथा सिंगल थिएटरहरुमा राम्रो शो पाएको छ ।
नेपालका लोकप्रिय कलाकारका साथै दक्षिण भारतीय फिल्म उद्योगका परिचित तथा सटार कलाकारहरुद्वारा अभिनय गरिएकाले पनि यो फिल्म दर्शकमाझ बहुप्रतिक्षित बनेको हो । नेपाल र साउथका लोकप्रिय कलाकारको अभिनयले दर्शकको ध्यान आकर्षित गरेको यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसप्रति थप हाइप बढेको छ ।
एक्सन र प्रेमभावले भरिएको ट्रेलरले पनि यो फिल्मलाई प्रतिक्षित बनाएको हो । कलाकारको स्टारडम तथा महंगो प्रोडक्सनले यो फिल्मले दर्शकमा एक प्रकारको उत्सुकता बढाएको छ । बलिउडका फिल्मसंग तुलना गरिएको एक्सन तथा चुस्त प्राविधिक कार्य समावेश भएको यो फिल्मको सवल पक्ष हो ।
एक्सन, प्रेम, द्वन्द, रोमान्स, गीत, संगीत, कमेडी तथा सस्पेन्स यो फिल्मका मुख्य विशेषता हुन्, जसलाई ट्रेलरमा पनि अनुभव गर्न सकिएको छ । यो फिल्म नेपाली, तेलुगु तथा हिन्दी गरी तीन भाषामा प्रदर्शन हुँदैछ । नेपालीबाहेक अन्य भाषामा रिलिज गर्नु भनेको फिल्मप्रति निर्माताको आत्मविश्वास नै हो ।
झण्डै सात करोड रुपैयाँ लगानी गरिएको यो बिग बजेटको फिल्मका बारेमा अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको भनाइ छ – ‘‘नेपाली फिल्मको स्तर उकास्नका लागि सेट, छायांकनलगायतमा कुनै पनि कुरामा हामीले कम्प्रमाइज गरेका छैनौँ । प्रूारम्भमा अहिले बनेको जस्तो थिएन । तर, जब हामी अगाडि बढ्दै गयौँ, नेपाली फिल्मको स्तर उकास्न र विदेशमा पुर्याउने स्तरको काम गर्नुपर्छ भन्दै मेहनतलाई थप बढायौं ।’
प्रारम्भमा ५०–६० लाख रुपैयाँको बजेटमा फिल्म निर्माण गर्ने भनेर सोचेर प्रारम्भ गरिएको काम नेपाली सिनेमा उद्योगलाई राम्रो फिल्म दिने भन्दै अगाडि बढ्दा छ करोड रुपैयाँ लगानी भएको फिल्मका निर्माता तथा अभिनेता हरिहर अधिकारीको भनाइ छ ।
फिल्मको शीर्षक ‘ह्रस्व–दीर्घ’ राखिनुको पछाडि आफ्नै कारण रहेको निर्माता अधिकारीको भनाइ छ । उनी भन्छन्– ‘हाम्रो फिल्मको नामलाई फिल्म भित्रका चरित्रको नाम, ठाउँको नाम, सम्बन्ध आदि जे खाख्दा पनि न्यान नहुने भएपछि ‘ह्रस्व–दीर्घ’ राखिएको हो । फिल्म हेरेपछि शीर्षकको अर्थ प्रष्ट हुन्छ । किन यो नाम राखिएको रहेछ भनेर थाहा हुन्छ । फिल्म हेरेपछि नै दर्शकले यसको नाम किन यही राखिएछ भनेर सबैले थाहा पाउनु हुनेछ ।’
ट्रेलरमा ब्रह्मानन्दमको स्वरलाई लिएर भइरहेको वहसमा नीताले ट्रेलरमा मात्रै उनले नेपाली बोलेको बताएकी छन् । फिल्ममा टुटेफुटेको नेपाली तथा हिन्दी भाषा नै उनले प्रयोग गर्ने बताएकी छिन् । फिल्ममा बनासरमा बसेर संस्कृत पढेर नेपाल आएको क्यारेक्टर ब्रह्मानन्दमले निर्वाह गरेका छन् ।
चन्द्र पन्तद्वारा निर्देशित यो फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।