१३ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो
काठमाडौं । मंसिर २, डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ। दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले पराजित गरेको हो।
नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो। एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा १–० (अप्रिल, २०११) को जित निकालेको थियो। त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको छ।
साफका ती दुवै सेमिफाइनल (नयाँ दिल्ली २०११ र काठमाडौं २०१३) को भेटमा अफगानिस्तानले बाजी मार्यो । उसले पहिलो सेमिफाइनल अतिरिक्त समय र दोस्रो सेमिफाइनल नियमित समयमै जितेको थियो। काठमाडौंमा भएको अन्तिम भेटमा रोहितले दुईपल्ट पेनाल्टी प्रहार गरे पनि गोल गर्न नसक्दा नेपाल पराजित हुन पुगेको थियो। तर, यसपल्ट उनले नै नेपालको जर्सीमा गोल गर्दै नेपाललाई सहज जित दिलाए।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरूआतमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाए। ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गरे। सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। त्यसयता ९१ खेल खेले पनि उनी गोलविहीन थिए।
नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको थियो। अफगानिस्तानले नेपालविरुद्ध प्रतिस्पर्धा गरेसँगै मंगलबार ताजिकिस्तानसँग खेल्ने छ।