डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिए

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३, राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।

आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएको उनी निकट स्रोतले बतायो । आगामी मन्त्रिपरिषद बैठकले उनको राजीनामाबारे निर्णय गर्ने छ ।

१४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए ।

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।

मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए । अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो ।

मुद्दा लागेको भोलिपल्टै अर्याललाई सरुवा गर्ने निर्णयपछि लीलादेवी गड्तौला निमित्त हुँदै ३१ असारमा कायममुकायम मुख्यसचिव नियुक्त भएकी थिइन् ।

त्यसपछि १० साउनमा मुख्यसचिव नियुक्त भएकी उनले अवकाश पाएपछि १३ भदौमा एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएका थिए ।

अहिले डा। बैकुण्ठ अर्याल र एकनारायण अर्याल दुवै जना नेपाल सरकारको विशिष्ट श्रेणीको मुख्यसचिव वा सरहको पदमा कायम छन् ।

प्रकाशित : 18 November, 2024

प्रतिक्रिया दिनुहोस्