चुनावबाट नयाँ नेतृत्व चयनको माग गर्दै अखिल क्रान्तिकारीको अनसन सुरु

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४ , चुनावबाट नयाँ नेतृत्व चयनको माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् ।

निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगानाले आजदेखि आमरण अनसन सुरु गरेका हुन् ।

अखिल क्रान्तिकारीको स्थगित बन्दसत्र मंसिर २३ गतेदेखि नै सुरु गरी निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको माग राख्दै केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरभित्रै आमरण अनसन बसेको निवर्तमान केन्द्रीय उपाध्यक्ष रावलले बताए ।

गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा सुरु २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हदको विषय पेचिलो बनेपछि नयाँ नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । अध्यक्ष मण्डलको बैठकले स्थगित सम्मेलन मंसिर २३ र २४ गते गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : 19 November, 2024

प्रतिक्रिया दिनुहोस्