भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरु

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरु भएको छ । महाराष्ट्रको २८८ विधानसभा सिटका लागि २० नोभेम्बरमा एकै चरणमा मतदान भएको थियो भने झारखण्डको ८१ विधानसभा सिटका लागि दुई चरणमा-१३ नोभेम्बर (पहिलो) र २० नोभेम्बर (दोस्रो) मतदान भएको थियो ।

यी दुई राज्यका विधानसभा चुनावबाहेक केरलाको वायनाड र महाराष्ट्रको नांदेड़ लोकसभा सिटहरू साथै केही राज्यका विधानसभा सिटहरूका लागि उपचुनाव पनि भएको छ । तिनको नतिजा पनि आज नै सार्वजनिक हुनेछन् । महाराष्ट्रमा सत्तारूढ महायुती र महाविकास अघाडीबीच प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै, झारखण्डमा जेएमएम नेतृत्वको ‘इन्डिया’ गठबन्धन र बीजेपी नेतृत्वको ‘एनडीए’ गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ ।

मतदानपछि आएका अधिकांश एक्जिट पोलहरूले दुवै राज्यमा कडा प्रतिस्पर्धा हुने देखाएका छन् । यी पोलहरूले महाराष्ट्रमा बीजेपी नेतृत्वको महायुती गठबन्धन र झारखण्डमा बीजेपी नेतृत्वको एनडीएलाई अग्रता रहने अनुमान गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रारम्भिक मतपरिणाम अनुसार दुवै राज्यमा बीजेपी नेतृत्वको गठबन्धन नै अघि देखिएको छ । २८८ सिट भएको महाराष्ट्र विधानसभा जित्नका लागि १४५ सिटको आवश्यकता पर्छ । त्यस्तै ८१ सिट भएको झारखण्ड विधानसभा जित्नका लागि बहुमतको आंकडा ४१ सिटको छ । बीबीसी हिन्दीका अनुसार महाराष्ट्रमा ६५ प्रतिशत र झारखण्डमा ६७.५९ प्रतिशत मत खसेको छ ।

प्रकाशित : 23 November, 2024

प्रतिक्रिया दिनुहोस्