केनको कीर्तिमानी प्रदर्शनमा बायर्न विजयी

काठमाडौं । मंसिर ८, ह्यारी केन शनिबार जर्मन बुंडेसलिगामा सबैभन्दा चाँडै ५० गोल गर्ने खेलाडी भएका छन् र उनकै ह्याट्रिकको मद्दतले बायर्न म्युनिकले असबर्गलाई सजिलै ३–० ले पराजित गरेको छ ।
इंग्लिस कप्तान केनले ६३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेपछि इन्ज्युरी समयको पाँचौं मिनेटमा ह्याट्रिक पूरा गरे । यससँगै उनी जर्मन माथिल्लो डिभिजनको लिगमा सबैभन्दा कम खेलबाट ५० गोल गर्ने खेलाडी बने ।
उनले यसका लागि ४३ खेल मात्रै खेले र इर्लिङ हालान्डको नाममा रहेको कीर्तिमान उछिने । हालान्डले बोरुसिया डर्टमुन्डका लागि ५० खेलमा ५० गोल गरेका थिए । यो जितपछि बायर्नले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता पनि लिएको छ ।