गुल्मीको मुसिकोट १ मा कांग्रेसलाई साख जोगाउने चुनौती

सहयात्रा टिभी

काठमाडौं । मंसिर १२, गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर-१ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन नजिकिसँगै दलहरुले चुनाव लक्षित कार्यक्रमहरु तीव्र पारेका छन् ।

वडाध्यक्ष पदका लागि ५ राजनीतिक दल र ३ जना स्वतन्त्र गरी ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै हुने आँकलन छ ।

नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ र नेकपा एमालेबाट दलबहादुर थापा उम्मेदवार छन् । त्यस्तै माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन् । स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार छन् ।

२०७९ मा वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । २०७९ को निर्वाचनमा सो वडामा ३ हजार ८०८ मतदाता थिए । अहिलेको उप निर्वाचनमा ४ हजार ५१ जना मतदाता छन् ।

२०७९ सालमा नेकपा माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका मोहन घिमिरे ११८२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए । एमालेका नारायण बहादुर थापाले ११४३ मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसले वडाअध्यक्ष जिते पनि अरु वडा सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । नेकपा एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

अहिले भने पाँच राजनीतिक दलबाट उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् भने कसैले पनि गठबन्धन गरेका छैनन् । त्यसैले यसपटक चुनाव आफूले जित्नेमा एमालेका नेताहरु विश्वस्त देखिन्छन् । कांग्रेसलाई भने विगतको साख जोगाउनुपर्ने चुनौती छ । निर्वाचनका लागि यसपटक तीन वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित : 27 November, 2024

प्रतिक्रिया दिनुहोस्