माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा बस्ने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १२, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार पदाधिकारी बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा तीन वटा एजेण्डा तय गरिएका छन् । स्थानीय तहको उपनिर्वाचनको विषयमा रिर्पोटिङ लिने र त्यसउपर छलफल गर्ने पहिलो एजेण्डा छ । केन्द्रीय समितिको बैठकको तयारीबारे छलफल गर्ने दोस्रो एजेण्डा छ । तेस्रो एजेण्डामा विधान संशोधन प्रतिवेदन पेश गर्ने विषय रहेको छ ।

‘निर्वाचन आयोगको ढाँचा अनुसार पार्टीको विधान मिलाउनुपर्ने छ । यससम्बन्धी कार्यदलको प्रतिवेदन पदाधिकारी बैठकमा पेश हुनेछ’ उपाध्यायले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।

विधानसम्बन्धी कार्यदलमा माओवादीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

 

प्रकाशित : 27 November, 2024

प्रतिक्रिया दिनुहोस्