रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ कामदारको मृत्यु
काठमाडौं । मंसिर १६, रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा चार जनाको मृत्यु भएको छ ।
आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा पाँच जना पुरिएका थिए । बिहान १०ः२० बजे मानिसहरु पुरिएको खबर पाएपछि सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको थियो । प्रहरीले मृत्यु भएका चार जनालाई बाहिर निकालेको र पुरिएका भनिएका अर्का एक जनाको खोजी भइरहेको जनाएको छ ।
मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलका लागि एलबी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले जिम्मा लिएको थियो ।