बुटवल सडकखण्ड विस्तारको क्रममा करिब सात हजार रुख काटिने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १८, बुटवल ५० किलोमिटर लामो दुरीको बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा करिब सात हजार रुख काटिने भएको छ ।

तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरूसिङ्गे सडकखण्ड आगामी माघ महिनादेखि विस्तारको काम सुरु हुँदैछ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ ।

आयोजनाका अनुसार सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ । त्यसका लागि निर्माण व्यवसायीहरुले सडक क्षेत्रमा आवश्यक तयारीका काम सुरु गरिसकेका छन् ।

विस्तार हुने सडक क्षेत्रको नापजाँच, सर्भे, विद्युत पोल सार्ने, सडक क्षेत्र मिचेर बनेका संरचना खाली गराउने, माटो परीक्षण र रुख कटानको अनुमति लिने प्रक्रिया पुरा भैसकेको छ ।

काटिने रुखमा मार्किङ गर्ने काम सम्पन्न भैसकेको छ । सडक क्षेत्रभित्र बनेका संरचनालाई घर धनीले आफैं भत्काएर क्षतिपूर्ति समेत लिइसकेका छन् ।

बुटवलदेखि गोरुसिंगे सम्मको करिब ५० किलोमिटर खण्ड विस्तारको काम पूरा भएलगत्तै कपिलवस्तुको चन्द्रौटासम्मको सडकखण्ड विस्तारको प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ । गोरुसिंगे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटर छ । अहिले सो सडकखण्ड डिजाइनको काम भइरहेको छ ।

 

प्रकाशित : 3 December, 2024

प्रतिक्रिया दिनुहोस्