चीनको पेकिङ विश्वविद्यालयमा ओलीद्धारा लोकतन्त्रको व्याख्या
काठमाडौं । मंसिर १९, प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमणमा छन् । मंगलबार महत्त्वपूर्ण राजनीतिक भेटघाट र समझदारी गरेका ओली बिहीबार चीनको पेकिङ विश्वविद्यालय पुगे ।
विश्वविद्यालयमा ‘बृहत लोकतन्त्रः समृद्ध नेपाल, सुखी नेपालीको यात्रा’ विषयमा मन्तव्य दिँदै उनले लोकतन्त्रको क्षयीकरण र यसका चुनौतीबारे धारणा राखे ।
प्रधानमन्त्री ओलीले आफ्नो लामो राजनीतिक जीवन स्मरण गर्दै भने, ‘कठिनाइ र चुनौतीहरूको सामना गर्दै लोकतन्त्र र जनताको सुखका लागि मेरा प्रयास अझै बलियो बनेको छ ।’
‘आजको विश्व लोकतन्त्रको क्षयीकरण वा पछाडि फर्कने कुरा गरिरहेको छ’, उनले भने, ‘बिडम्बना के छ भने धेरै तथाकथित विकसित देशहरूमा जनतालाई नै लोकतन्त्रविरुद्ध खडा गरिएको छ ।’
प्रधानमन्त्रीले लोकतन्त्रलाई बृहत् अर्थमा बुझ्नुपर्ने र यसको व्यापकता खोज्नुपर्नेमा जोड दिँदै यसलाई लोकतन्त्रलाई केवल राजनीतिक संरचनाको रूपमा बुझ्न नहुने बताए ।
‘लोकतन्त्र केवल राजनीतिक संरचना मात्र होइन, सामाजिक प्रणाली पनि हो । यसको अर्थ हरेक व्यक्तिको सम्मान, सम्भावना, सुरक्षा र समृद्धिको सुनिश्चितता हो,’ प्रधानमन्त्री ओलीले भने ।
लोकतन्त्रमा जनताले आफ्ना प्रतिनिधिहरू चयन गर्ने भए पनि यस्तो लोकतन्त्रलाई केवल यही प्रक्रियामा सीमित गर्न नहुनेमा उनले जोड दिए ।