दक्षिण कोरियामा राष्ट्रपति सुक योल विरुद्ध महाभियोगको प्रस्ताव पेश
काठमाडौं । मंसिर १९, दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेको जानकारी प्राप्त भएको छ ।
प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको द कोरिया टाइम्सले जनाएको छ । शुक्रबार बिहानै अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी रहेको भनिएको छ ।
मंगलबार स्थानीय समयअनुसार राति १०ः२३ बजे राष्ट्रपति योलले देशविराधी तत्वलाई तह गराउन भन्दै सैन्य शासन लागू गरिएको बताएका थिए । उनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको जिकिर गरेका थिए ।
राष्ट्रपतिले गरेको सम्बोधन लगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको थियो ।
यद्यपि, राष्ट्रपतिकै पार्टीका नेताहरुले पनि यो कदमको विरोध गरेका थिए भने विपक्षी दलका सांसद्हरुले संसद् भवनमा बाहिर उपस्थित भएर प्रदर्शन गरेका थिए ।