माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । मंसिर २०, नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।

आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो ।

मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उत्साहित भएको माओवादीको आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो ।

बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर ‘राम्रो’ भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने, ‘बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’

कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भए पनि त्यसलाई पनि जितकै रुपमा लिएर उत्साहित भएको उनले बताए ।

सापकोटाले २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्न माओवादी केन्द्रले पहल गर्ने समेत बताए ।

प्रकाशित : 5 December, 2024

प्रतिक्रिया दिनुहोस्