नेसपाका अध्यक्ष डा भट्टराईले गरे रास्वपा सभापति रविसँग भेट
काठमाडौं । मंसिर २१, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका छन् । साथै, उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।
‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रुपमा म उहाँलाई बुझ्छु ।
त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ,’ रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यवद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’
त्यस्तै, उनले सहकारी समस्या समाधान नहुँदा पचासौं लाख साना बचतकर्ताहरू मर्कामा परेको भन्दै त्यसको समाधानका लागि लाग्नुपर्ने बताए ।
‘सहकारीसम्बन्धी समस्या जुन छ, त्यसको जरो धेरै फैलिएको छ । जसले ३० वर्षदेखि पालैपालो सत्तामा बसेका नेताहरू जो सत्तामा बसिरहेका छन्, तीनकै वरिपरिबाट अपचलन भइराखेको छ ।
त्यहाँनेर समस्या समाधान नगर्ने हो भने पचासौं लाख साना बचतकर्ताहरू मर्कामा परेका छन्,’ उनले भने, ‘तीनको समाधान हुनुपर्यो । अहिले यो कुरालाई अल्झाइराख्ने र त्यो विषयान्तर गर्ने विषय होइन । कानुनले आफ्नो बाटो लिगोस् । कानुन मान्न पर्छ ।’
राजनीतिक प्रतिशोध पनि हुने र सहकारी पीडितको समस्या समाधान पनि नहुने हुँदा देश बर्बादीतिर जान लागेको शंका उनले व्यक्त गरे ।