सुशान्त केसी स्पोटिफाइमा सर्वाधिक सुनिएका नेपाली गायक
काठमाडौं । मंसिर २५, गायक सुशान्त केसी विश्वभर लोकप्रिय सांगीतिक प्लेटफर्म स्पोटिफाइमा सर्वाधिक सुनिने नेपाली गायक बनेका छन्। सन् २०२४ सकिनै लाग्दा स्पोटिफाइले वर्षभरि विश्वभर सर्वाधिक सुनिने गीत, एल्बम, संगीतकर्मी आदिको सूची सार्वजनिक गरिरहेको छ।
यसै सिलसिलामा उनी नेपालबाट स्पोटिफाइमा सर्वाधिक सुनिने गायक ठहरिएका हुन्। स्पोटिफाइमा ४४ मिलियन पटक सुनिएको गायक सुशान्त केसीलाई कुल ८ दशमलव २ मिलियन घण्टा सुनिएको छ भने विश्वभरिबाट १ सय ७६ देशका दर्शकले सुनेका छन्।
सुशान्तले सामाजिक सञ्जालमार्फत आफ्नो स्पोटिफाइमा एकाउन्टको स्क्रिन सट राख्दै दर्शकलाई धन्यवाद दिएका छन्। यस वर्ष बार्दली, पर्ख न, झ्यालबाट, सारंगीजस्ता हिट गीत दिएका सुशान्तलाई स्पोटिफाइमा सुन्नेको सङ्ख्या बढ्दो छ। त्यस्तै अन्य गायकगायिकाले पनि आफ्नो गीत संगीतको तथ्याङ्कबारे सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
गायक युवेश थापालाई २३ मिलियन, समीर श्रेष्ठलाई २२ मिलियन पटक सुनिएको छ भने पूर्ण राईलाई १५ मिलियन, स्वप्न सुमन र ओएसिस थापालाई १४/१४ मिलियन पटक सुनिएको छ। गत वर्ष सर्वाधिक सुनिएका सज्जनराज वैद्य भने यस वर्ष श्रोेताको हिसाबले पछाडि परेका छन्।
स्पोटिफाइमा उनलाई मासिक ३ लाख ९८ हजारले सुन्दै आएका छन्। जेन जी पुस्तामाझ लोकप्रिय गायक केसीका क्षमा पाऊ“ आमा, साथी, सताएर, क्या कर्दियाजस्ता गीत हिट छन्।