लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । मंसिर २८, सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायत माथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछानेलगायतमाथि देशका पाँच सहकारीबाट ६५ करोडभन्दा बढी रकम अवैधानिक रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको आरोप छ ।
सोही आरोपमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा पाँच करोड ५८ लाख रकम अवैधानिक रूपमा गएको देखिएको छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको औँल्याएको छ । कास्की प्रहरीले एकसाथ थप अभियोग र पूरक प्रतिवेदन बुझाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया अनुसन्धान अन्तिम चरणमा पुगेको बताए।
“अनुसन्धान करिब सकिएको छ । अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गर्दै छन्,” ओलियाले भने, “थपिएकै म्यादमा सक्ने प्रयत्न छ, अहिले नै यही दिनमा प्रतिवेदन बुझाउँछौँ भन्ने अवस्था रहेन ।” प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा थप अभियोगपत्र बुझाइसकेको छ भने पूरक प्रतिवेदन तयार गर्दै छ ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्ले प्रहरी प्रतिवेदन प्राप्त भइसकेपछि अभियोजनतर्फ लाग्ने उल्लेख गर्नेछन्। “हामी एकसाथ दुई अभियोगपत्र, थप अभियोग र पूरक अभियोग लैजान्छौँ । थप अभियोगपत्र भर्खर प्राप्त भएको छ,” काफ्ले भन्छन्, “पूरक अभियोगपत्र प्राप्त हुनै बाँकी छ । अभियोगपत्र प्राप्त भइसकेपछि केही समय त्यसको अध्ययनका लागि चाहिन्छ । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निक्र्याेल हुन्छ । त्यसपछि अभियोगपत्र तयार गर्ने चरण आउँछ ।”
सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउने छ । कास्की अदालतले रविलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश दिए पनि अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई हिरासतमै राख्ने छ । पाँच वटै ठाउँमा लामिछानेको बयान सकिएकाले पुर्पक्षमा राख्ने वा नराख्ने वा हिरासतमा राख्ने वा नराख्ने भन्ने निर्णय पनि अदालतको आदेशमै निर्भर हुन्छ ।
थप पाँच दिन थुनामा राख्न अनुमति
जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेसहित पाँचै जनालाई थप पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूलाई बिहीबारदेखि लागु हुने गरी पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि पाँच दिन म्याद थप भएको हो । लामिछानेविरुद्ध यसअघि छ पटक म्याद थप गरी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेको मानवअधिकार र स्वास्थ्यबारे सार्वजनिक रूपमा चर्चा भएकोतर्फ सङ्केत गर्दै अदालतले मानव अधिकार उल्लङ्घन हुने गतिविधि नगर्न, नगराउनसमेत भनेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले हिरासतमा पाँच जना रहेकामा सबैभन्दा पहिले पूर्वउपाध्यक्ष जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेको थियो । ९० दिनभित्र अभियोजन गर्नुपर्नेमा बिहीबार थपिएको म्यादसहित प्रहरीले ८६ दिन अनुसन्धानका लागि पाएको छ । पछि पक्राउ गरिएकाहरूलाई पनि जोशीसँगै अभियोजन गर्नुपर्ने भएकाले पुस ५ गतेभित्र अभियोगपत्र बुझाइसक्नु पर्छ ।