माओवादीले पार्टी प्रवेश गर्नेलाई जिम्मेवारीमा प्राथमिकता दिने

काठमाडौं । मंसिर २९, नेकपा (माओवादी केन्द्र) ले अन्य पार्टीबाट प्रवेश गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीमा विशेष प्राथमिकता दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागी सचिव गणेश साहका अनुसार बैठकले अन्य पार्टी तथा स्वतन्त्र ढङ्गले काम गरिरहेकाहरूलाई पार्टीमा भित्र्याउन विशेष योजनासमेत ल्याउने भएको छ । बैठकले अब क्षमताको आधारमा सबैलाई ठोस जिम्मेवारी दिने निर्णय गरेको छ ।
आगामी केन्द्रीय समिति बैठकबाट नेताहरूको उचित कार्यविभाजन गर्ने निर्णय पनि गरेको सचिव साहले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी तहकै नेताहरू जिम्मेवारीविहीन हुँदा पार्टीको काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको बताउँदै कार्यविभाजनबारे गहन र थप गृहकार्य गर्न सम्बद्ध सबैलाई निर्देशन दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले सबैलाई उचित जिम्मेवारी दिने बताए । सचिव साहले पार्टीमा २२ जना पदाधिकारी रहेकोमा अहिले केहीले मात्र जिम्मेवारी पाएको बताए । आगामी केन्द्रीय समिति बैठकपछि सबै पदाधिकारी तथा नेताहरूको जिम्मेवारी ठोस गरिने सचिव शाहले बताए । बैठकले पुस २ गते गर्ने भनिएको केन्द्रीय समिति बैठक पुस २१ गते गर्ने निर्णय गरेको छ ।
पार्टी सचिव साहले बैठकमा प्रस्तुत गर्नुपर्ने दस्तावेज तयार गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरिएको बताए । त्यसै गरी बैठकले भर्खरै सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको ‘बिआरआई’ सम्बन्धी सम्झौता सकारात्मक भएको विश्लेषण गर्दै ‘बिआरआई’ सम्बन्धी छलफल नयाँ नभई माओवादी सरकारमा भएकै बेला भएको निष्कर्ष निकालिएको सचिव साहले जानकारी दिए ।
सचिव साहका अनुसार बैठकमा मङ्सिर १६ गते सम्पन्न स्थानीय उपनिर्वाचनमा पार्टीको बढेको भोटले पार्टीले भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा उठाएको ‘एजेन्डा’ लाई जनताले पुष्टि गरेको र पार्टीप्रति जनताको विश्वास एवं आकर्षण बढेको विश्लेषण गरिएको थियो ।